संखुवासभा — संघीय शिक्षा ऐनको मस्यौदाविरुद्ध नेपाल शिक्षक महासंघ संखुवासभामा आवद्ध शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलित भएका छन् ।
शिक्षकहरुले शुक्रबार खाँदबारी नगरका विभिन्न स्थानमा विरोध र्याली निकालेर शिक्षा समन्वय ईकाईमा ज्ञापनपत्र बुझाएका छन् । राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, बाल शिक्षिका लगायतका पेशाकर्मीहरुलाई उपेक्षा गरेको र पेशागत हकहितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएपछि आन्दोलन थालिएको नेपाल शिक्षक महासंघका अध्यक्ष शेरबहादुर पुरीले बताए ।
निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको आरोप उनीहरुको छ । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा ल्याएर सेवासुविधा सहितको पेशाको ग्यारेन्टी हुनुपर्ने विरोधमा उत्रिएका शिक्षकहरुले माग राखेका छन् ।
