कोशी करिडोर अनुगमन गर्न राष्ट्रिय सभाका ६ सांसदको टोली भोटखोलामा

फाल्गुन ८, २०८१

दीपेन्द्र शाक्य

A team of 6 MPs of the National Assembly at the polling station to monitor the Koshi Corridor

संखुवासभा — राष्ट्रिय सभाका ६ जना सांसदहरू खाँदबारी हुँदै भोटखोलाको गोलाबजार पुगेका छन् । बुधबार खाँदबारी आइपुगेको टोली किमाथांका सडकको अनुगमन गर्न संखुवासभा आएका हुन्। राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति र सदस्यहरु कोशी करिडोरको सडक अनुगमनका लागि भोटखोला पुगेका हुन्।

समिति सभापति सोनाम गेल्जेन शेर्पा, सदस्यहरू किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारीहरू उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की सडक अनुगमन गर्न आएका उत्तरकोशी सडक कार्यालय प्रमुख रामबहादुर गुरुङले बताए।

उनीहरू बुधबार हवाईजहाजबाट तुम्लिङटार आएका थिए । टोलीमा सडक कार्यालयका इन्जिनियरसहित तीनजनाको टोली पनि पठाइएको छ । सांसदहरूले खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण बजारसम्म सडक निर्माणको अवस्थाबारे जानकारी लिइसकेका छन् । खाँदबारीबाट ८० किमि दूरीमा रहेको बरुणखोलासम्म सडक अनुगमन गरेर टोली बिहीबार फर्किनेछ। त्यहाँभन्दा माथि किमाथांकासम्म पुग्न सडकको अवस्था राम्रो नभएकाले बरुण खोलासम्म स्थलगत अवलोकनपछि खाँदबारी फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

खाँदबारीदेखि किमाथांकासम्म सडकको दूरी १६२ किमि छ। उत्तर-दक्षिण कोशी सडकले ०६६ सालमा कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो। गत माघ १४ गते सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईले सडकको ‘ब्रेक थ्रु’ गरेका थिए।

खाँदबारीदेखि बरुण खोलासम्म ८० किमि नियमित सवारीसाधन आवतजावत हुन्छ भने त्यहाँभन्दा माथि यातायातको साधान आवतजावत गर्न सक्ने अवस्था छैन।

दीपेन्द्र

Link copied successfully