विराटनगर — भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट नेपाली विद्यार्थीहरू धमाधम घर फर्किन थालेका छन् ।
पूर्वको विराटनगर र काँकडभिट्टा नाकाबाट एक सयभन्दा बढी विद्यार्थीहरू फर्किसकेका छन् । जोगबनी नाकाबाट बुधबार अपरान्हसम्म ८० जनाभन्दा बढी र काँकडभिट्टा नाकाबाट २० जनाभन्दा बढी विद्यार्थी फर्किएको प्रहरी कार्यालयले जनाएको छ ।
केआईआईटी विश्वविद्यालयको होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको निधन भएपछि उत्पन्न असहज परिस्थितिका कारण नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निष्कासन गरेको थियो । जोगबनी नाकाबाट फर्किएका सुनसरीका राकेश यादवले आन्दोलनपछि ८ सय बढी विद्यार्थीलाई रेल्वे स्टेसन पुर्याएर छाडिएको जनाए ।
उनका अनुसार बुधबार उनीसहित १५ जनाको टोली जोगबनी नाकाबाट फर्किएको हो । उनले भने, ‘विश्वविद्यालयले अचानक रेल्वे स्टेसनमा छाडिदियो, कतिपय विद्यार्थीसँग त घर फर्किने भाडा पनि थिएन।’उडिसाबाट फर्किएका विद्यार्थीहरूलाई प्रहरीले नाकामा सहजीकरण गरी गन्तव्यमा पुर्याउने काम गरिरहेको छ ।
