हलेसी बजारका अग्नि पीडितलाई जुट्न थाल्यो राहत

फाल्गुन ६, २०८१

डम्बरसिं राई

Relief started gathering for the fire victims of Halesi Bazar

खोटाङ — हलेसी बजारका अग्नि पीडितलाई राहत जुट्न थालेको छ । खोटाङ उद्योग वाणिज्य संघले ५१ हजार र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले ४० हजार नगद नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको विपद् कोषमा जम्मा गरी एकद्वार प्रणालीबाट अग्नि पीडितलाई राहत दिने निर्णयपछि नगरपालिकालाई नै राहत हस्तान्तरण गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । 

उनका अनुसार वाणिज्य संघले नगरप्रमुख विमला राईलाई राहत हस्तान्तरण गरेको हो । ‘नगरपालिकाले एकद्वार प्रणालीबाट राहत दिने निर्णय गरेअनुरूप हामीले पनि नगरपालिकालाई नै राहत हस्तान्तरण गरेका छौं,’ आचार्यले भने ।

त्यस्तै खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले पनि नगरपालिकालाई राहत वापतको ४० हजार नगद हस्तान्तरण कोषका कोषाध्यक्ष युगसन किरातले बताए । खोटाङ सेवा समाज हङ्कङले स्थापना गरेको प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगन्द्र राई सहितको टोलीले नगरपालिकाका लेखाअधिकृत नवराज कटवाललाई राहत हस्तान्तरण गरेको हो ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिहरूको दुई दिनको सेवा सुविधा,  निजामती कर्मचारीहरूको दुई दिनको, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलव कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । 

‘फागुन ५ गते नगरप्रमुख विमला राईको संयोजकत्वमा विपत व्यवस्थापन समितिको बैठक बसेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने र त्यसका लागि नगरपालिकाबाटै राहत संकलन सुरु गर्ने निर्णय गरेका छौं,’ गिरीले भने, ‘यसमा जनप्रतिनिधिहरूको दुई दिनको सेवा सुविधा, निजामती कर्मचारीहरूको दुई दिनको, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलव कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय गरेका छौं, थप राहतका लागि इच्छुकहरूका लागि क्युआरकोड सहित आह्वान गरिएको छ ।’

आइतबार बेलुकी हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बराबरको धनमाल क्षति भएको थियो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully