ताप्लेजुङ — पाथीभराका केबलकार निर्माणको विरोध गर्दै आएको समूहले मंगलबार (आज) देखि ८ गतेसम्म पद यात्रा तथा पाथीभरामा क्षमा पूजा गर्ने भएको छ ।
सदरमुकाम फुङलिङबाट पदयात्रा गर्दै पाथीभरासम्म जाने र बिहीबार अर्थात् ८ गते सदरमुकाम फर्कने कार्यसूची रहेको ‘नो केबलकार’ समूहका प्रचार संयोजक नविन पोमुले जानकारी दिए । ९ गते फुङलिङ नगरपालिका घेराउको कार्यक्रम रहेको छ ।
यता, केबलकार निर्माणको समर्थनमा सदरमुकाम फुङलिङमा मंङगलबारै सद्भाव र्याली निकालिँदै छ । विकास प्रेमी युवा समाजको नाममा मंगलबार दिउसो सदरमुकाम फुङलिङमा सद्भाव र्याली निकाल्ने प्रकाश मादेनले जानकारी दिए । यसको मुख्य उद्वेश्य केबलकार निर्माणमा सहयोग पुर्याउनु रहेको छ ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनसमेतको समर्थनमा र्याली निकाल्न लागेको जनाइएको छ । सामुदायिक भवन सिटिहल बाट सुरु हुने र्यालीले नगर परिक्रमा गर्ने आयोजकले जनाएको छ ।
ताप्लेजुङमा केबलकार निर्माणको समर्थन र विरोध दुवै तर्फका गतिविधि भइरहेका छन् । निर्माणको काम भने रोकिएको छैन । काफ्लेपार्टी छेउको सब स्टेशन निर्माणको काम भइरहेको छ भने सब स्टेशनदेखि मन्दीरसम्म नै रुख कटान तथा छपानको काम सकिएको निर्माण व्यवसायी इन्द्र केदेमले जानकारी दिए ।
दुवैतर्फको र्याली, पदयात्रालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । काफ्लेपाटी तथा पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी थप गरिएको छ । काफ्ले पाटी र माथिल्लो फेदीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेको छ ।
पदयात्राका लागि हिन्दू, बौद्ध, किरात लगायतका धर्मका धर्म गुरु लगायतका व्यक्तिहरुलाई आमन्त्रण गरिएको पोमुले बताए । ‘को–को आउने चाहिँ निश्चित छैन,’ पोमुले भने, ‘हामीले निमन्त्रणा गरेका छौं, उहाँहरु आफ्नो तरिकाले पनि आउनुहुन्छ र समन्वय गरेर पनि आउन सक्नु हुन्छ ।’
धार्मिक स्थलमा भौतिक संरचना बनाएर विध्वंश गरेकोप्रति युमामाङसँग प्रार्थना गर्दै क्षमा पूजा गर्न लागिएको पोमुले जानकारी दिए ।
