हलेसी बजारमा आगलागी हुँदा तीन घर जलेर नष्ट [अपडेट]

फाल्गुन ४, २०८१

डम्बरसिं राई

Three Houses Destroyed in Halesi Bazar Fire [Update]

खोटाङ — हलेसी बजारमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आइतबार साँझ सात बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोले तीन वटा घर पूर्ण रूपमा र एउटा घरमा आंशिक क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए ।

 उनका अनुसार पदमशेरको हार्डवेयर पसल सहितको घर, प्रकाशचन्द्र गिरीको होटल हलेसी दर्शन रेस्टरेन्ट सहितको घर, ऐराख राईको कल्याण होटलसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसबाहेक भरण राईको पारुहाङ होटल र घरमा पनि आंशिक क्षति पुगेको राईले सुनाए । विस्तृत क्षति विवरण भने आउन बाँकी रहेको राईले जनाएका छन् । ‘अहिलेसम्म तीन वटा घरमा भएको पसल र होटलहरू पूर्ण रूपमा क्षति भएको छ, एउटा घर र होटलमा आंशिक क्षति भएको छ,’ राईले भने, ‘विस्तृत क्षति विवरण आइसकेको छैन ।’

आगो करिब साढे तीन घण्टापछि साढे १० बजेतिर नियन्त्रणमा आएको निमित्त प्रजिअ राईले बताए । आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब पाँच सय जना खटिएको राईले सुनाए । दमकल नभएपछि आगो नियन्त्रणका लागि ट्र्याक्टर, ट्यांकर, भाँडाकुाडा लगायतबाट समेत पानी ओसारेर प्रयोग गरिएको राईले जनाए । ‘दमकल थिएन, ट्र्याक्टर, सडक विभागको ट्यांकर, स्थानीयको भाँडाकुँडाबाट समेत पानी ओसारेर आगो निभाइयो,’ राईले भने ।

हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले आगो नियन्त्रणमा समस्या भएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । ‘हाम्रो नगरमा दमकल थिएन, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दमकल पनि बिग्रेको रहेछ, ओखलढुंगाको दमकल चलाउने ड्राइभर पनि छैन रहेछ त्यसपछि उदयपुर कटारी र भोजपुर नगरपालिकाको दमकल मगाइएको थियो, तर आगो नियन्त्रण भएपछि रोकियो,’ उनले भनिन् ।

आगलागीमा मानवीय क्षति भने भएको छैन । ‘तर नियन्त्रणका क्रममा थुप्रैलाई चोट लागेको छ,’ राईले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully