दमकल नहुँदा हलेसी बजारको आगलागी निभाउन समस्या 

फाल्गुन ४, २०८१

डम्बरसिं राई

There is a problem in extinguishing the fire in Hallesi market due to lack of fire brigade

खोटाङ — दमकल अभावमा हलेसी बजारमा भइरहेको आगलागी नियन्त्रणमा समस्या भएको छ । आइतबार साँझ सात बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोबाट पदमशेर र उनका छिमेकी ऐराख राईको घर जलेर नष्ट भइसक्दा आगो नियन्त्रणका लागि दमकल नहुँदा समस्या भएको हो । 

हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले ट्र्याक्टरमार्फत पानी बोकेर आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

‘दिक्तेल रूपाकोट मझुवागढीको दमकल पनि बिग्रेको रहेछ, ओखलढुंगाको दमकल चलाउने ड्राइभर पनि छैन रहेछ, उदायपुर कटारीको दमकल मगाइएको छ तर ४ घण्टाजति समय लाग्ने भयो,’ राईले भनिन्, ‘ट्याक्टरबाट पानी बोकेर नियन्त्रणको प्रयास भइरहेको छ ।’ 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले आगो नियन्त्रण बाहिर भएको बताएका छन् । ‘धेरै ठूलो आगो छ भन्ने सुनिएको छ,’ विष्टले भने, ‘तै पनि घटनास्थलतर्फ जाँदैछु, के रहेछ भन्नेबारे पुगेरै थाह हुन्छ ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully