पहिरोपीडितलाई जस्तापाता र भाँडावर्तन 

फाल्गुन ४, २०८१

लक्ष्मी गौतम

Iron leaves and utensils for the landslide victims

पाँचथर — असोजको ९ देखि १२ सम्म भएको अविरल वर्षासँगै गएको बाढी पहिरोबाट घरबारविहीन भएका पाँचथरको फिदिम नगरपालिकाका प्रभावितलाई जस्तापाता र भाँडावर्तन उपलब्ध गराइएको छ ।

फिदिम नगरपालिकासँगको सहकार्यमा कारितास नेपालले यहाँका १ सय २५ प्रभावितलाई जस्तापाता र भाँडावर्तनसहित २ सय ५० विद्यार्थीलाई स्टेसनरी वितरण गरेको हो । फिदिम नगरपालिकामा आयोजित कार्यक्रममार्फत आइतबार ती सामग्री वितरण गरिएको थियो । वितरित सामग्रीमा प्रतिपरिवार ३ बण्डलका दरले जस्तापाता, काँटी र वासरसहित खाना पकाउने प्रेसर, कराई, कुकर, फिल्टर जग, थाल र डाडु-पन्यु लगायत छन् ।

यस्तै विद्यार्थीलाई झोला र कापी कलम लगायतका स्टेसनरी सामग्री वितरण गरिएको छ । कारितासमार्फत फिदिमका प्रभावितलाई ४३ लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

कार्यक्रममा मेयर काफ्ले, उपमेयर राधाकृष्ण न्यौपाने र कारितास नेपालका दमक शाखा प्रमुख शंकरकुमार पौडेल सहितका प्रतिनिधिले बाढीपहिरो प्रभावितलाई सामग्री हस्तान्तरण गरेका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully