खुम्बु पासाङल्हामु प्रवेश गर्दा ५० रुपैयाँ शुल्क

सामान ढुवानी गर्दा प्रतिक्विन्टल १० रुपैयाँ पालिकालाई बुझाउनुपर्ने

फाल्गुन ३, २०८१

भानुभक्त निरौला

50 rupees fee for entering Khumbu Pasanglhamu

सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिकाले सवारी साधनबाट आउने यात्रुबाट प्रवेश शुल्क उठाउन थालेको छ । पालिकाले पर्यटकीय क्षेत्र खुम्बु प्रवेश गर्ने यात्रुबाट जनही ५० रुपैयाँ र सामानका लागि प्रतिक्विन्टल १० रुपैयाँका दरले सेवा शुल्क उठाउन थालेको हो ।

सर्वोच्च शिखर सगरमाथा पर्ने उक्त गाउँपालिकाको सडक मार्ग प्रवेशद्वार रहेको वडा १ स्थित खरिखोलामा गाउँ प्रहरी पोस्ट नै राखेर यात्रुबाट शुल्क उठाउने गरेको छ । गत २० पुसमा बसेको गाउँपालिकाको हिउँदे सभाले सडक मर्मत सुधारका लागि यात्रुबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । त्यसको केही सातामै शुल्क उठाउन थालिएको हो । ‘पालिकाले आर्थिक ऐन निर्माण गरेर शुल्क संकलन गर्न थालेको हो,’ गाउँ कार्यपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले भने ।

प्रवक्ता शेर्पाका अनुसार खुम्बु क्षेत्रको खरिखोला प्रवेश गर्नासाथ यात्रुले व्यक्तिगत रूपमा नतिरे सवारीधनीले एकमुष्ट रूपमा सबै यात्रुको शुल्क गाउँ प्रहरी पोस्टमा बुझाउनुपर्नेछ । सडक मर्मत सम्भारका लागि भन्दै यात्रुबाट सेवा शुल्क उठाउन थालेपछि आलोचना पनि भएको छ । वडाध्यक्ष र अन्य सरोकारवालाले पालिकाको कदमको विरोध गरेका छन् । वडा १ का अध्यक्ष फुनुरु शेर्पाले पालिकाले यात्रुबाट शुल्क उठाउनु गलत रहेको टिप्पणी गरे । कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले राज्यकै लगानीबाट बनेको सडकमा निजी कम्पनीले सडक बनाए जसरी यात्रुबाट शुल्क उठाउन नमिल्ने बताए ।

गाउँपालिकाले यसअघिदेखि नै खुम्बु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट पनि २ हजार रुपैयाँका दरले पर्यटन शुल्क उठाउँदै आएको छ । खुम्बु पासाङल्हामु पालिकाभरि २५ किलोमिटर मात्रै सडक छ । वडा १ खरिखोलादेखि सुर्केसम्म मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन् । यो सडक गाउँपालिका र लुक्लापारि निर्माणाधीन जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी सिल्क पावर प्रालिको लगानीमा हालै निर्माण गरिएको हो ।

भानुभक्त

Link copied successfully