संखुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

फाल्गुन २, २०८१

रासस

Energy Minister's directive to speed up the physical construction of Sankhuwasabha

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका छन् ।

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा सङ्खुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले सङ्खुवासभाको बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।   

'पुल नहुँदा सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्ला नै होइन जस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दुःख पाएका छन् । सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्,' मन्त्री खड्काले भने । उनले खाँदबारी–किमाथाङ्का सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए ।

भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले हालसम्म खाँदबारीदेखि किमाथाङ्कासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए ।

महानिर्देशक पोखरेलले सङ्खुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे । भेटमा सडक विभागका उत्तर–दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ तथा विभागका कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए । 

रासस

Link copied successfully