वडा सचिवमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग

फाल्गुन २, २०८१

डम्बरसिं राई

Demand action against ward secretary who behaves indecently

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि भएको अभद्र व्यवहारको विरुद्ध कर्मचारी सम्बद्ध विभिन्न पेशागत संघ संगठनहरूले भत्सर्ना गरेका छन् । 

माघ २८ गते कार्यालयमै वडा सदस्य युवबहादुर कार्कीलगायतले अभद्र व्यवहार गरेको भन्दै त्यसमा संलग्नलाई कानुनी कारबाही गर्न मागसहित नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष शम्भु तामाङ, राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङका अध्यक्ष चित्रकुमार सुवेदी र एकीकृत सरकारी कर्मचारी संगठन खोटाङ अध्यक्ष सोमप्रसाद आचार्यले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले समेत संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरूले दोषीलाई कारबाही र कर्मचारीको जिउज्यानको सुरक्षाको माग राखेका छन् । छानबिन गरी दोषीलाई कारबाही नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउनेसमेत चेतावनी विज्ञप्तिमार्फत दिइएको छ । 

वडा सदस्य कार्कीको नेतृत्वमा अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य राजकुमार ढकाल लगायतको समूहले हुल हुज्जतका साथ वडा कार्यालयमा प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड एवम् वडा सचिव ढकाललाई हातपात गरेको विज्ञप्तिमा उल्लेख छ । यसबाहेक स्थानीय वरुण ढकाल, नरेन्द्र ढकाल, गणेशबहादुर कार्कीसमेत संलग्न रहेकाले किटानी जाहेरी दिएको वडा सचिव होमनाथ ढकालले बताएका छन् । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully