प्रहरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

माघ २५, २०८१

डम्बरसिं राई

Complaint of inciting suicide against the police

खोटाङ — प्रहरीले बिनाकारण हत्कडी लगाएकाले एक युवाले आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जबरजस्ती करणीमा आरोप लगाउँदै हत्कडी लगाएकाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियारले शुक्रबार बिहान आत्महत्या गरेको भन्दै उनका परिवारले साँझ प्रहरीमा जाहेरी दिएका हुन् ।

मृतकका दाजु कुशल परियारले दिएको जाहेरीमा अर्खौलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय पोशराज कार्की र अर्की एक महिलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । मृतक भाइले आफू होइन भन्दाभन्दै पूर्जीबिनै पक्राउ गरी समाजमा बेइज्जत गरेकाले आफूले आत्महत्या गर्न बाध्य पारेको सुसाइटनोटमा उल्लेख गरेकाले जाहेरी दिइएको कुशलले बताए । ‘भाइले मैले गल्ती गरेको छैन भन्दाभन्दै बेकारमा हत्कडी लगाएर पक्राउ गरी गाउँ समाजमा बेइज्जत गरेकाले आत्महत्या गरेकाले जाहेरी दिएको हो,’ कुशलले भने ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सन्जु कार्कीका अनुसार ४० वर्षीया एक महिलाले स्थानीय १७ वर्षीय किशोरले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि बिहीबार बेलुकी राम परियारलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । त्यही विषयमा समाजमा बेइज्जत भयो भनेर आत्महत्या गरेको सुसाइटनोटले देखाएपछि मृतकका दाजुले जाहेरी दिएको वडासदस्य किशोर श्रेष्ठले बताए । 

‘हिजो बेलुकी पाँच बजेतिर पक्राउ गरी साँझ साढे छ बजेतिर बाबु गंगा परियारको जिम्मा लगाएर छाडियो, त्यसपछि गाउँ समाजमा बेइज्जत भयो भनेर सुसाइटनोट गोजीमा राखेर आज बिहानै आत्महत्या गरेछ, त्यसैको आधारमा मृतकका दाजुले जाहेरी दिएका हुन्,’ वडा सदस्य श्रेष्ठले भने, ‘जाहेरी दिएपछि डीएसपीसापले कानुनबमोजिम प्रक्रिया अघि बढाउने आश्वासन दिनु भएको छ ।’ 

जबरजस्ती करणी अभियोगमा अर्का एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरिएको कार्कीले सुनाए । जाहेरीपछि आत्महत्या दुरुत्साहन र जबरजस्ती करणी दुवै विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully