बन्दका कारण गर्भवती बाटैमा रोकिएको घटना: चुम्लुङ ताप्लेजुङकी अध्यक्षसहित पाँच जनाले दिए राजीनामा

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Incident of pregnant women being stopped on the road due to the shutdown: Five people including the president of Chumlung Taplejung resigned

ताप्लेजुङ — ‘नो केबलकार समूह’ले गरेको बन्दका क्रममा सडकमा रुख ढालेर बाटो बन्द भएपछि गर्भवती महिला बीच बाटैबाट फर्किएको विषयमा सामाजिक सञ्जालमा गम्भीर आपत्ति जनाएकी किरात याक्थुम चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्वोसहित पाँच जनाले राजीनामा दिएका छन् । 

आफैंले नेतृत्व गरेको संस्थाको बन्दका कारण प्रशव पीडाले छट्पटाइरहेकी गर्भवती महिलालाई बीच बाटैबाट फर्काउनुपरेपछि त्यसको सर्वत्र आलोचना भएको थियो । सोही कारण अध्यक्ष मेन्याङ्वोसहित पाँच जनाले संस्थाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

माघ २२ गते पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर बाटो अवरुद्ध हुँदा गर्भवती महिला बोकेको एम्बुलेन्स रोकिएको थियो । एम्बुलेन्समा प्रशव पीडाले छट्पटाइरहेकी महिला चिच्याइरहेको भिडियो सार्वजनिक भएको थियो । 

मेन्याङ्वोले उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै ‘मानवीय संवेदनाको पनि ख्याल गर्न नसक्ने तपाईं हामी सब पशु हौं’ भन्दै आक्रोश पोखेकी थिइन् । चुम्लुङ पाथीभरा केबलकार निर्माणमा विरोध जनाउँदै आएको एउटा महत्त्वपूर्ण घटक हो । मेन्याङ्वोले विगत ९ वर्षदेखि यो संस्थाको नेतृत्व गर्दै आएकी थिइन् ।

उनले आफ्नै कार्य व्यस्तताले राजीनामा दिएको बताएकी छिन् । आफ्नो समुदायका लागि काम गर्न पाउँदा आफूले भाग्यमानी महशुस गरेको राजीनामा पत्रमा उनले उल्लेख गरेकी छिन् । राजीनामा दिनेमा संस्थाका सदस्य रञ्जित माबो, सिरिजंगा गाउँपालिका समिति संयोजक भुपेन्द्र माबो, चुम्लुङका लिम्बू सांस्कृतिक परिषद् सल्लाहकार सुनिता केदेम र लिम्बू सांस्कृतिक परिषद्का अध्यक्ष खड्ग लाबुङ रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully