धनकुटा — बेलायत निवासी लेखक विश्वासदीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयमा खेलमैदान र कार्यक्रम मञ्च निर्माण गरिदिएका छन् ।
छथर जोरपाटी-१, धनकुटामा रहेको भारती माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँ लागतमा खेलमैदान विस्तार, स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरी सोमबार विद्यालय सञ्चालक समितिलाई हस्तान्तरण गरियो । तिगेलाकै खर्चमा विद्यालयको प्रवेशद्वारमा फलामको ढोका र खेलमैदान वरिवरि तारजालीसमेत लगाइएको छ ।
तिगेला र श्रीमती भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय सञ्चालक समितिका अध्यक्ष होमकुमार लिम्बु र प्रधानध्यापक भिमबहादुर लिम्बुलाई खेलमैदान र स्टेज हस्तान्तरण गरे । खेलमैदान निर्माण गरिएको उक्त जग्गासमेत विस २०६९ मा तिगेलाले १ लाख ३८ हजार रुपैयाँमा खरिद गरिदिएका थिए । विद्यालय व्यवस्थापन समितिले खेलमैदानको नाम 'विश्वासदीप तिगेला खेलमैदान' नामकरण गरेको छ । खेलमैदान र कार्यक्रम स्टेज भवन छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गीता खेवाले उद्घाटन गरेकी थिइन् । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार व्यक्त गर्दै खेलमैदानमा वार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिकामार्फत पहल गर्ने आश्वासन दिइन् ।
दाता तिगेलाले गरेका योगदानको कदरस्वरुप खेलमैदानको नाम विश्वासदीप तिगेला खेलमैदान राख्ने निर्णय गरिएको विद्यालयका प्रधानध्यापक भिमबहादुर लिम्बुले बताए । विद्यालयका तर्फबाट दाता दम्पतीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
भविष्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
