महालक्ष्मी कपको उपाधि गला इन्टरनसनललाई

माघ २२, २०८१

रमेशचन्द्र अधिकारी

Mahalakshmi Cup title to Gala International

धनकुटा — धनकुटाको जीतपुरमा आयोजना भएको महालक्ष्मी कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गला इन्टरनेसनल काठमाडौंले उचालेको छ । 

वसन्तपञ्चमी पर्वको अवसरमा आयोजित क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेलमा गलाले उपाधि चुमेको हो । गलाले आयोजक ग्लोबल क्लब धनकुटालाई ३–२ सेटले पराजित गर्दै उपाधिसँगै दुई लाख दुई हजार दुई सय २२ नगद र ट्रफी हात पारेको छ । त्यस्तै उपविजेता टोलीले एक लाख एक हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । 

महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेबाट प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा देशका विभिन्न नौ क्लबको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नरेन तुम्साले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न महालक्ष्मी नगरपालिका र जिल्ला भलिबल संघलगायत विभिन्न संघसस्थाले सहयोग गरेको आयोजकले जनाएको छ । 

प्रतियोगीतामा पुरस्कार वितरण गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले भलिबल तर्फको राष्ट्रव्यापी खेलकुद गतिविधि भएको बताए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully