धनकुटा — धनकुटा नगरपालिका-४ देब्रेबासस्थित लक्ष्मीनारायण मन्दिरमा शनिबार राति चोरी भएको छ । मन्दिरको मुल ढोकाको ताला तोडेर भित्र दान पेटिकामा रहेको करिब पन्ध्र हजार नगद चोरी भएको हो ।
बिहान पुजा गर्न जानेक्रममा ताला तोडिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको पुजारी अम्बिका प्रसाद अधिकारीले बताए । मन्दिरमा मुर्ति र अन्य सामग्री भने सुरक्षित रहेको उनको भनाई छ ।
यो समेत एक हप्ताको अवधिमा आसपासका तीन वटा मन्दिरमा चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । यसअघि पनि धनकुटा-४ देब्रेबासको शिव मन्दिर र सल्लेरीस्थित सरस्वती मन्दिरमा चोरी भएको थियो ।
एसपी चौधरीका अनुसार शनिबार मात्रै धनकुटा बजारको मुख्य स्थान हुलाक टोलबाट माघ १० गते लुटपाटमा सम्लग्न एक व्यक्ति पक्राउ परेका छन् । उनलाई धरानबाट पक्राउ गरिएको उनले बताए । प्रहरीले धनकुटा-७ का आकाश सोहनीलाई पक्राउ गरेको हो। 'धनकुटामा श्रृंखलाबद्ध चोरीका घटना बढेका छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ,' उनले भने ।
