लाटोकोसेरो तथा हुचिल उत्सव मनाइयो

माघ १९, २०८१

डम्बरसिं राई

Latocosero and Huchil festivals were celebrated

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा छैटौं लाटोकोसेरो तथा हुचिल उत्सव मनाइएको छ । पर्यावरणलाई सहयोग पुर्‍याउने पन्छी संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष उत्सव मनाउने गरिएको छ । 

२०७५ माघ १८ र १९ गते हुचिल तथा लाटोकोसेरो उत्सवको अवसरमा लाटोकोसेरो तथा हुचिललाई वडा पन्छी घोषणा गरिएको थियो । प्रकृतिको साथी नामक संस्थाको आयोजना र वडा कार्यालय जालपाको संयोजनमा भएको लाटोकोसेरो तथा हुचिल उत्सवमा वडा पन्छी घोषणा गरेपछि जनचेतना बढेको जालपा माविका प्रधानाध्यापक दिलबहादुर राईले बताए । ‘२०७५ सालअघि लाटोकोसेरो तथा हुचिलको बारेमा केही थाहा थिएन, त्यत्तिखेर उत्सव मनाएपछि चाहिँ संरक्षण गर्नु पर्छ भन्ने सबैलाई थाहा भएको छ,’ राईले भने ।

शुक्रबार भएको छैटौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जालपा वडा कार्यालयको आयोजना तथा जालपा माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालयस्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको प्रअ राईले बताए । उनका अनुसार वक्तृत्वकला प्रतियोगितामा जालपा माविकी निता विश्वकर्मा प्रथम, ज्योति माविकी मेलिना राई दोस्रो, ज्योति माविकै चिमाल राई तेस्रो र जालपा माविकी कन्चन राई सान्त्वना घोषित भएका छन् । 

त्यस्तै चित्रकलातर्फ नर्सरीदेखि कक्षा ३ सम्मको चित्रकलामा जालपा माविकी पूजा श्रेष्ठ प्रथम, ज्योति माविका योगेश राई दोस्रो, जालपा माविकी सियुमी राई तेस्रो र जालपा माविकै संगीत विश्वकर्मा सान्त्वना भएका छन् । कक्षा ४ देखि ७ सम्मको चित्रकलामा जालपा माविकी सोइङमा राई प्रथम, ज्योति माविका सविन श्रेष्ठ दोस्रो, जालपा माविका अर्पण राई तेस्रो र जालपा माविकै सिर्जन राई सान्त्वना भएका छन् । चित्रकलाको वरिष्ठ अन्तर्राष्ट्रिय चित्रकार अस्ट्रेलियन नागरिक रेमण्ड जोन मार्डेनले अवलोकन तथा पुरस्कार वितरण गरेका थिए । उक्त उत्सवमा प्रअ राईले लाटोकोसेरो तथा हुचिलको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उत्सवको अवसरमा आयोजित प्रतियोगिताका लागि प्रकृतिका साथी संस्थाका राजु आचार्यले पुरस्कारको व्यवस्था गरेका थिए । 

लाटोकोसेरो तथा हुचिलले मुसालाई मुख्य आहारा बनाउने भएकाले किसानको साथी पनि मानिन्छ । एक छिमल बच्चा हुर्काउँदा अर्थात् पाँच वटा लाटोकोसेरोले वर्षमा तीन हजार मुसा खाने गर्छ । यसका साथै किरा, फट्यांग्रा लगायतका जीवलाई आहारा बनाउने भएकाले लाटोकोसेरो पर्यावरणका लागि उपयोगी मानिएको हो । विश्वमा दुई सय ५४ प्रकारका लाटोकोसेरो पाइन्छ । 

नेपालमा पाइने २३ प्रकारका लाटोकोसेरोमध्ये जालपामा ७ प्रकारका पाइने अध्ययनले देखाएको छ । ‘विश्वमा दुई सय ५४ प्रकारका, नेपालमा २३ र हाम्रो जालपामा ७ प्रकारका लाटोकोसेरो पाइन्छ,’ राईले भने, ‘जालपामा कम्तिमा संरक्षण गर्नु पर्छ भन्ने धारणाका साथ लाटोकोसेरोको मूर्तिसमेत स्थापना गरिएको छ ।’ 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully