पाँचथर — याङवरक गाउँपालिका–२ बर्मेमा सञ्चालित तिम्बु पोखरी आधारभूत विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई हाम्रो सहारा पाँचथरले शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच ह्वाइट बोर्ड, फिल्टर, भित्ते घडी र डस्टबिन तथा विद्यार्थीलाई कापी–कलम र स्कुल ब्याग लगायत सामग्री सहयोग गरेको हो ।
जिल्लाको दुर्गम बर्मेको उक्त विद्यालयमा ४ छात्र र ३ छात्रा गरी ७ जना विद्यार्थी अध्ययनरत छन् । सदरमुकामदेखि १७ कोश टाढा रहेको उक्त स्थानसम्म पुग्न मोटर बाटो पुगेको छैन ।
विद्यालयको सेवा क्षेत्रभित्र १२ घर छन् । जहाँ कक्षा ५ सम्म अध्ययन अध्यापन हुन्छ । विकास र पूर्वाधारका दृष्टिले निकै टाढा रहेको उक्त विद्यालयको आवश्यकतालाई मध्यनजर गरी शैक्षिक सामग्री वितरण गरिएको सहयोगी संस्था हाम्रो सहाराका अध्यक्ष गजेन्द्र राईले बताए ।
हाम्रो सहाराले गत तिहारमा खेलेको देउसीबाट संकलन गरेको रकमबाट शैक्षिक सामग्री खरिद गरिएको अध्यक्ष राईले जानकारी दिए ।
शैक्षिक सामग्री सहयोग गरेकामा हाम्रो सहाराको टिमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर राई र प्रधानाध्यापक धनप्रसाद राई लगायत स्थानीय अभिभावकले धन्यवाद दिएका थिए ।
गत असोजमा स्थापना भएका हाम्रो सहारा पाँचथर जिल्लामा क्रियाशील सामाजिक संस्था हो । प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग, सरसफाइ अभियान र विद्यालयलाई शैक्षिक सामग्री वितरण लगायतका क्रियाकलाप यस संस्थाले सञ्चालन गर्दै आएको छ ।
