कुटपिटपछि आगो लगाएर हत्या गर्ने प्रयास

माघ १९, २०८१

लक्ष्मी गौतम

Attempted murder by arson after beating

पाॅचथर — तेह्रथुमको आठराई गाउँपालिका-४ का ५५ वर्षीय धनपति प्रसाईलाई चार जनाको समूहमा रहेका युवाहरूले कुटपिटपछि आगो सल्काएर हत्याको प्रयास गरेको खुलेको छ ।

घटना आठराई गाउॅपालिका-५ छातेढुंगास्थित अर्चलेमा भएको हो । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोद खड्काका अनुसार कुटपिटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । 

उनीहरूको नाम भने खुलेको छैन । अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईमाथि बिहीबार साँझ कुटपिट भएको थियो । ४ जनाको समूहमा रहेका उनीहरूले बाटो छेकेर कुटपिट गरेका थिए । तर के कारणले कुटपिट गरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ । 

कुटपिटपछि शख्त घाइते भएर ढलेका प्रसाईलाई सेउला, खर र झिक्राले छोपेर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । आगो लगाउँदा प्रसाईको टाउकोको देब्रे भाग डढेको छ ।

घाइतेलाई उद्वार गरी शुक्रबार पाॅचथर अस्पताल ल्याइएका उनलाई प्राथमिक उपचारपश्चात झापाको विर्ता सीटी अस्पताल पठाइएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully