वैदेशिक रोजगारको प्रलोभनमा ठगी गर्ने भारतीयसहित ५ पक्राउ

माघ १५, २०८१

कान्तिपुर संवाददाता

5 arrested, including an Indian, who cheated with the lure of foreign employment

मोरङ — वैदेशिक रोजगारको नाममा ठगी गर्ने ५ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी कारबाही अघि बढाएको छ । 

पीडित महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानाडा पठाइदिने भन्दै पटकपटक गरी ६६ लाख ६७ हजार रुपैयाँ ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो । 

विभिन्न विदेशी मोबाइल नम्बरहरुबाट व्हाट्सएपमार्फत सम्पर्क गरी गिरोहले उनीहरुलाई ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले माघ ८ गते पक्राउ गरेका अभियुक्तहरुमा २३ वर्षीय भारतीय नागरिक केशव यादव र २२ वर्षीय रोहितकुमार पासवान, २३ वर्षीय करण भन्ने अमित राय, ३० वर्षीय बुद्धनारायण मलाह र २५ वर्षीय बोधराज राजवंशी रहेका छन् । 

अनुसन्धानका क्रममा मुख्य अभियुक्त केशव यादवले अन्य व्यक्तिहरुलाई समेत पैसाको प्रलोभन देखाई ई-सेवा, खल्तीजस्ता डिजिटल वालेट र बैंक खाताहरु खोल्न लगाई तिनको प्रयोगकर्ता पहुँच र पासवर्ड लिई कारोबार गरेको खुलेको छ ।

मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमा विज्ञापन देखाई वैदेशिक रोजगारीको प्रलोभनमा पारी अनलाइन ठगी गर्ने यस्ता घटनाहरु बढ्दै गएको भन्दै सचेत रहन सर्वसाधारणलाई प्रहरीले आग्रहसमेत गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully