पाथीभरा झडपबारे प्रशासनले भन्यो, 'सुरक्षाकर्मीद्वारा आत्मरक्षाका लागि हवाई फायर'

आन्दोलनकारीले आज आइएमई बैंकमा धर्ना  दिने

माघ १४, २०८१

आनन्द गौतम

About the Pathibhara clash, the administration said, 'Aerial fire for self-defense by security personnel'

ताप्लेजुङ — माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपको बिषयमा सरोकारवालाले आपत्ति जनाएपछि जिल्ला सुरक्षा समितिले घटनाको बिषयमा प्रष्टिकरण दिएको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विज्ञप्तिमार्फत् सुरक्षाकर्मीद्वारा आत्मरक्षाका लागि अन्तिम विकल्पको रुपमा हवाई फायर गरिएको दाबी गरेका छन् ।

कानून बमोजिम राष्ट्रसेवक कर्मचारीबाट कार्य सम्पादन गर्ने क्रममा सिर्जित अवरोधप्रति जिल्ला सुरक्षा समितिले घोर भर्त्सना समेत गरेको छ । आन्दोलनरत पक्षले भने अझैपनि आन्दोलन छोडेको छैन ।

उनीहरूले सोमबार ग्लोबल आइएमई बैंक अगाडि धर्ना दिने जनाएका छन् । गत कार्तिक २३ गतेदेखि पाथीभरामा पुग्न केवलकार निर्माण कार्य पुन सुरु भएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सुरक्षा चुनौती बढेकाले सोही परिस्थिति आँकलन गरी प्रहरी सुरक्षाकर्मी समन्वयात्मक रुपमा परिचालन गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्दै आएको प्रमुख जिल्ला अधिकारी शर्माले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा अघिल्ला दिनहरूझैँ १२ गतेपनि नियमित सुरक्षा गस्ती गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद गतिविधि भएको आशंकामा सामान्य अनुगमन गर्दा विवाद भएको दाबी गरिएको छ । २०८१ बैशाख ३१ गते रुख कटान भएपछि बलुडाँडास्थित निशा राई र रमेश राईको गोठमा नो केवलकार समूह बस्दै आएका छन् ।

घरेल हतियार बामफोक, गुलेली र लठ्ठी नियन्त्रणमा लिने क्रममा विवाद भएको थियो । यो क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिने क्रममा संयुक्त गस्तीका कमाण्डर प्रहरी निरीक्षकसहितको टोलीमाथि ढुंगा, चिर्पट, दाउरा र गुलेली प्रहार भएपछि आत्मरक्षाको अन्तिम विकल्पको रुपमा हवाई फायर गर्नुपरेको समितिले दाबी गरेको छ।  

उक्त घटनामा सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएका थिए भने ७ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको समितिले जनाएको छ।  जिल्लाको सद्धभाव एकता र भातृत्वको भावना जीवन्त राख्ने क्रममा जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, नागरिक समाज लगायत सरोकारवालामा जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ। 

यता मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले भने माघ १४ गते केवलकारका सञ्चालक चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंक अगाडि धर्ना दिने, माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी जिल्लामा सञ्चालित ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग समेत राखेका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने र उनीहरूलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ। 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully