राष्ट्रिय गौरवको खाँदबारी-किमाथांका सडक 'ब्रेक थ्रु'

यो सडकले चीन, नेपाल र भारत जोड्नेछ

माघ १४, २०८१

दीपेन्द्र शाक्य

Khandbari-Kimathanka road of national pride 'break through'

संखुवासभा — चीन, नेपाल र भारत जोड्ने  राष्ट्रिय गौरवको जोगवनी-किमाथांका सडक 'ब्रेक थ्रु' भएको छ । चीन र भारत जोड्ने खाँदवारी-किमाथांका सडक छिचोलिएपछि सञ्जालमा जोडिएको हो ।

नेपाली सेनाले चट्टानी भीर फुटाइसकेपछि कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकको च्याम्तांग-घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको ऊर्जामन्त्री दीपक खड्काले बताए ।

ऊर्जामन्त्री खड्काका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई, पूर्वसांसद राजेन्द्र गौतमसमेतको टोली घोङघोप्पा पुगेर 'ब्रेक थ्रु' गरेका हुन्। यससँगै सडकको स्तरोन्नति र चौडा बनाउने काम गरिने उनले बताए ।

यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलव ५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । यता सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमि सडकको कच्ची ट्याक खुलिसकेको थियो ।  खाँदबारी-किमाथांका सडकको दूरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । 

मन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।  त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनका अलावा बंगलादेशले फाइदा लिन सक्ने उल्लेख गरे । उनले सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरे ।

रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्याक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद पनि दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने बताए । उनले उक्त सडक खण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे  ।

दीपेन्द्र

Link copied successfully