धनकुटा — सरकारले १५ वर्षपहिले सन् २०१० मै कुष्ठरोग निवारणका लागि विशेष कार्यक्रमको घोषणा गरेको थियो । तर, त्यसयता पनि बर्सेनि नयाँ कुष्ठरोगीको संख्या थपिने क्रम रोकिएको छैन ।
१५ वर्षअघि १० हजार जनसंख्यामा एकभन्दा कम संक्रमितको अवस्थामा झार्ने घोषणा गरिए पनि जोखिम अन्त्य भएको छैन । मुलुकभरका १७ जिल्ला जोखिम उच्च रहेको सरकारको तथ्यांक छ ।
कोशी प्रदेशमा मात्रै ४ सय ११ जना कुष्ठरोगका संक्रमित रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । यस प्रदेशका १४ मध्ये ९ जिल्लामा २०८०/०८१ मा नयाँ संक्रमित ४ सय ११ जना रहेको निर्देशनालयका कुष्ठरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले बताए ।
सबैभन्दा बढी मोरङमा १ सय ३२ कुष्ठरोग संक्रमित छन् । सुनसरीमा १ सय २८ र झापामा १ सय २५ जना छन् । उदयपुरमा १२, धनकुटामा ८, पाँचथरमा १, इलाम ४ र तेह्रथुममा १ जना रहेका छन् । जसमध्ये १४ वर्षमुनिका बालबालिकाको संख्या १२ रहेको छ । संखुवासभा, सोलु, ओखलढुंगा, भोजपुर र तेह्रथुममा नयाँ रोगी फेला परेका छैनन् ।
यस रोगका कारण माइकोव्याक्टिरियम लेप्रइ नामको व्याक्टेरियाका कारण छाला, स्नायु र शरीरका विभिन्न अंगमा असर पर्ने गुरागाईंले बताए । छालामा देखिने दाग तथा स्नायुमा क्षति हुने कारणले रोग लागेका व्यक्तिमा अपाङ्गताको जोखिमसमेत हुने भएको विश्वभरबाट यसको निवारण गरिन लागिएको बताइएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिकामा तीन र छथर जोरपाटी गाउँपालिकामा पाँच जना संक्रमित छन् । ती पालिकामा फेला परेका रोगीबाट अन्य व्यक्तिमा संक्रमण हुन नदिन नियमित औषधि र सचेतनाका गतिविधि जारी राखिएको महालक्ष्मी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहले बताए ।
