पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप, ४ जना घाइते

टियर ग्यास हानेको प्रहरीको भनाइ, गोली चलाएको आन्दोलनरत पक्षको दाबी 

माघ १२, २०८१

आनन्द गौतम

Clash between protestors and police in Pathibhara area, 4 injured

ताप्लेजुङ — 'नो केवलकार समूह' र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा ४ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् । 

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए । उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेली लगायत सामान बरामद गरेको पनि जानकारी दिए । 

‘माथिल्लो फेदी क्षेत्रमा बसेर उनीहरूले गलत हर्कत गरिरहेको सूचनाका आधारमा हाम्रो (एपीएफ) र नेपाल प्रहरीको टोली अध्ययनका लागि गएको थियो,’ सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले भने, ‘उनीहरूले माथिबाट आक्रमण गरेपछि हाम्रो टोलीले टियर ग्यास हानेको हो ।’ 

सशस्त्रले गोली हानेको र विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको आन्दोलनरत पक्षका श्री लिङ्खिमले दाबी गरे । ‘हामी भोलिदेखि गर्ने शान्तिपूर्ण आन्दोलनको प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरी टोलीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरेपछि आमनेसामने भएको हो,’ श्रीले भने ।  

मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति लगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् । उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् । 

केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो । शनिबार बेलुका ५ बजेपछिको अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । आन्दोलनत पक्षले भने आन्दोलनका कार्यक्रम सुरु भएको जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully