खोटाङ — जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शय्याको भवन बेलैमा नसकिँदा सेवाग्राही समस्यामा परेका छन् । निर्माण अवधि सकिँदासमेत भवन अपूरै हुँदा टहरामा उपचार गर्नु पर्ने बाध्यता छ ।करिब २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयााको लागतमा २०८० पुस २४ गतेसम्म सक्ने गरी २०७८ असार २४ गते श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभीले ठेक्का सम्झौता गरेको थियो ।
तर उक्त निर्माण अवधिमा काम नसकिएपछि २०८१ मंसिर २९ गतेसम्मका लागि ११ महिनाको म्याद थप गरिएको थियो । उक्त अवधिमा पनि भवन नबन्दा उपचार गर्न समस्या भएको अस्पतालका निमित्त प्रमुख डा. रूपेश संग्रौलाले बताए । ‘भवन त पहिल्यै बनिसक्नु पर्ने हो तर अहिलेसम्म पनि बनेको छैन, भवन नहुँदा साागुरो ठाउँ(टहरा)मा उपचार गर्नु पर्ने अवस्था छ, सेवा थप गर्न पनि सकिएन,’संग्रौलाले भने ।
भवन नहुँदा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष लगायतका सेवा टहरामा दिनु पर्ने अवस्था छ । शय्या अभावले अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।
निर्माणाधीन भवनमा विद्युतीकरण, झ्याल ढोका, सिलिङ, पानी, लिफ्ट लगायतका थुप्रै काम बाँकी देखिन्छ । उक्त कामका लागि सामग्री नै नभएकाले ढिला भएको निर्माणमा संलग्न कामदारहरूको भनाइ छ । ‘काम त धेरै थिएन, तर मेटेरियल नै छैन, ठेकेदारले मेटेरियल दिए छिट्टै नै सकिन्थ्यो,’एक कामदारले भने ।
गत साउन २७ गते भएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीको लापर्बाहीका कारण भवन निर्माणमा ढिलासुस्ती भएको निष्कर्ष निकाल्दै सम्बन्धित कम्पनीलाई निर्माण कार्यतालिकासहित मंसिर २९ गतेभित्र काम सक्ने गरी कागज गराइएको थियो । यसमा निर्माण कम्पनीको तर्फबाट रामबहादुर कटवालले हस्ताक्षर गरेका थिए । तर यो अवधिमा पनि काम सकिएको छैन । अबको दुई महिनाभित्र सक्ने निर्माण कम्पनीले जानकारी गराएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । ‘काम निक्कै नै ढिलो भयो, अझै दुई महिनामा सक्ने भनेर निर्माण कम्पनीले जानकारी गराएको छ,’राईले भने ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले भने छिट्टै काम सक्ने पहल भइरहेको बताएका छन् । ‘ठेकेदारले धमाधम सामान झार्दैछ, छिट्टै काम सक्छु भनेको छ,’राईले भने । निर्माणमा सम्बद्ध रामबहादुर कटवालले लिफ्टबाहेक अन्य काम सकिने जनाए । लिफ्टको कामचाहिँ केही समय लाग्छ, अन्य कामचाहिँ लगभग सकिन्छ,’कटवालले भने ।
पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्सरे कक्ष, फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना बन्ने छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण हुने छ । उक्त भवन ४० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइको हुने छ ।
