लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव धरौटीमा छुटे

माघ १०, २०८१

कान्तिपुर संवाददाता

The former secretary of the Chairman of the Accounts Committee, Pokharel, was released on bail

विराटनगर — ठगी मुद्दाका आरोपी संघीय संसद्‌को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ५ लाख धरौटीमा बिहीबार छुटेका छन् । 

मोरङ जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई उनले विभिन्न समयमा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए । 

पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully