कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा मुक्का प्रहार

माघ ५, २०८१

कान्तिपुर संवाददाता

Former Koshi Chief Minister Thapa was punched in Jhapa

विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापाको जामुनबारी चोकमा मुक्का प्रहार भएको छ। 

नेपाल प्रेस युनियनको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार, नेपाल विद्युत् प्राधिकरणको गाडीका एक चालकले थापा सवार गाडीलाई रोकेर आक्रमण गरेका थिए।

'विद्युत् प्राधिकरणको बा १ ञ १४७० नम्बरको गाडीले हाम्रो गाडीलाई बाटो छेक्यो। पीएसओले भिआईपीको गाडी हो भनी वाकीटकी देखाएपछि मात्र गाडी रोकिएको थियो,' हुमागाईंले बताए । उनका अनुसार प्राधिकरणका चालकले 'देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन्' भन्दै थापाको आँखामा मुक्का प्रहार गरेका थिए।

घटनापछि थापालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा प्राथमिक उपचार गरिएको र त्यसपछि उनी घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully