सङ्खुवासभा — कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ ।
शुक्रबार ११ बजे तिर सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैन ।
करिब ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ ।
इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोलीले र स्थानीय मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान करिब ९ किलोमिटर टाढा पर्छ ।
पहिरो खसेको सडक खण्डमा उत्तर दक्षिण कोशी सडकले डोजर पठाएर मर्मत गर्ने जनाएको छ ।
