विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यसम्पादनमा तीव्रता ल्याउन विभिन्न निर्देशन दिएका छन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै शुक्रबार उनले मन्त्रालयबीच फाइल सहमतिको प्रक्रिया २ देखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले जेठ १५ गतेभित्र सबै अन्तर्क्रिया तथा गोष्ठी कार्यक्रमहरू सम्पन्न गर्न निर्देशन दिँदै जेठको अन्त्यतिर एकैपटक धेरै कार्यक्रमहरू राख्ने प्रवृत्तिको आलोचना गरे । उनले मन्त्री र सचिवहरूलाई हप्तामा कम्तीमा तीनदेखि चार दिन सँगै बसेर काम गर्न आग्रह गर्दै बजेट खर्चको अवस्था सन्तोषजनक नभएको बताए।
आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनलाई लक्षित गर्दै मुख्यमन्त्रीले नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐनहरू छिटो पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिए। साथै प्रदेशसभामा उठेका प्रश्नहरूको जवाफ एक हप्ताभित्र दिन पनि निर्देशन दिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। प्रमुख सचिव केदारनाथ शर्माले पुँजीगत खर्च बढाउन र समयसीमाअनुसार काम गर्न मन्त्रालयहरूलाई निर्देशन दिए।
