सभापोखरी अग्निपीडितलाई राहत वितरण 

माघ ३, २०८१

दीपेन्द्र शाक्य

Relief distribution to the fire victims after the meeting

संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबीसे बजारका अग्निपीडितलाई जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहणमणि घिमिरे समेतको टोलीले बिहीबार बाह्रबीसे पुगेर पीडितलाई नगद १५ हजार वितरण गरेको हो । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, कम्मल, भाडावर्तन लगायतका सामग्री वितरण गरेको छ । अग्निपीडितमध्ये ४ परिवारलाई जनही १५ हजार र ५ जनाभन्दा माथि सदस्य भएका एक परिवारलाई २० हजार रुपैयाँ वितरण गरिएको घिमिरेले बताए । 

पीडितलाई अलैंची व्यवसायी संघले ५५ हजार र वितरक संघले ६० हजार ५ सय रुपैयाँ सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बुले बताए । उनका अनुसार गाउँपालिकाले बुधबार साँझ २ सेट ओड्नेओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरिसकेको छ । 

बुधबार दिउँसो भएको आगलागीबाट २ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट बाह्रबीसेमा ५ वटा घर जलेर नष्ट भएको थियो । 

अग्निपीडितको घरभित्र रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न झिक्न नसकिएको अध्यक्ष लिम्बुले बताए । आगो करिब २ घन्टासम्म लागेको थियो । आगलागीका कारण विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा बन्द भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट ५ घरका कम्तीमा १७ जना विस्थापित भएका छन् । अग्निपीडित आफन्त र छिमेकीकोमा बसेका छन् ।

बुधबार दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । ५ वटै ढुंगामाटोले बनेको घर आगलागीमा क्षति भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा डेढ घन्टामा आगो निभाइएको थियो ।

दीपेन्द्र शाक्य

Link copied successfully