संखुवासभा — सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबीसेमा ५ वटा घर जलेर नष्ट भएका थिए । स्थानीय प्रेम लिम्बुकाका अनुसार घरमा रहेको गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।
आगो करिब २ घन्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत बितरण गरेको छ । गाउँपालिकाले उनीहरुलाई २ सेट ओड्नेओछ्याउने, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न बितरण गरेको हो । अग्नीपीडित आफन्त र छिमेकीको सहारामा बसेका छन् ।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । आगलागीबाट ५ घरका कम्तीमा १७ जना विस्थापित भएका छन् । बुधबार दिउँसो २ बजे देखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो ।
आगलागीबाट क्षतिग्रस्त पाँच वटै घरहरू ढुंगामाटोले बनेका हुन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो नेपाली सेना, प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
