मुन्दुम भ्रमण वर्ष २०२५ सुरु

माघ २, २०८१

डम्बरसिं राई

Mundum visit year 2025 start

खोटाङ — ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ सुरु भएको छ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले चखेवामा मंगलबार उद्घाटन गरेका हुन् ।

उक्त भ्रमण वर्षको सुरुवातीमा टेम्केमैयु गाउँपालिकाको आयोजनामा चखेवामा मंगलबारेदेखि पाँच दिने सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको हो । उक्त मेलामा विभिन्न सांस्कृतिक झाँकी तथा कृषिजन्य उत्पादन प्रदर्शन गरिएको छ ।   

भ्रमण वर्षमा करिब एक लाख पर्यटक भित्राउन लक्ष्य लिइएको ट्रेल भ्रमण वर्ष २०२५ का आयोजक मध्येका रमेश राईले बताए । भ्रमण वर्षको अवधिमा सिजनअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरिएको राईले जनाए ।

उनका अनुसार भ्रमण वर्षमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गरिने राईले सुनाए ।

Mundum visit year 2025 start

त्यस्तै भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा आयोजना गरिने छ,’ राईले भने, ‘मुन्दुम ट्रेललगायत अन्य विभिन्न सांस्कृतिक पक्ष पर्यटनको भर्जिन गन्तव्य भएकाले एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully