दलित पत्रकार संघ कोशी प्रदेश गठन

१० बुँदे घोषणापत्र जारी 

पुस २८, २०८१

रमेशचन्द्र अधिकारी

Dalit Journalist Association formed in Koshi Province

धनकुटा — राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनले किशोर विश्वकर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । 

धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेशनले मोरङका पत्रकार विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरे चयन भएका छन् । 

सदस्यहरुमा खेममाया शिवा, चिरञ्जीवी शंकर, नरेश खाती, भुपाल सुर्खेती, आयुष्मा शंकर, खिरालाल विश्वकर्मा, राजन ठटाल, सुनिता रसाइलीलगायत छन् । त्यसैगरी अधिवेशनले निवर्तमान कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको संयोजकत्वमा रणध्वज लुहार र पदम सरदार समेतको ३ सदस्य सल्लाहकार समितिसमेत गठन गरेको छ । 

अधिवेशनको उद्घाटन पूर्वमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उक्त अवसरमा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल पत्रकार महासंघका केशी प्रदेश अध्यक्ष भरत खड्का, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, महासचिव हिमा चेम्जोङलगायतले सबैखाले विभेद अन्य गर्न एकजुट हुनुपर्नेमा जोड दिए । 

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का कोशी प्रदेश अध्यक्ष सन्तबीर लामा, गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, दलित एकता समाजका अध्यक्ष कोपिला शंकर लयायतले पनि धारणा राखेका थिए । 

Dalit Journalist Association formed in Koshi Province

कोशी प्रदेशका अगुवा पत्रकार पिवी दियाली र विसे नगर्चीका लेखक दिपेन्द्र तिमल्सिनालाई सम्मान तथा अभिनन्दन गरिएको छ । लामो समयदेखि बिरामी रहेका पत्रकार दियाली संघको केन्द्रीय सदस्य पनि हुन् । 

त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रीय उपाध्यक्षमा निर्वाचत संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई पनि सम्मान गरिएको छ । 

संघले नेपाल पत्रकार महासंघमा निर्वाचित कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, सचिव अरविन्द मेहेता, प्रदेश सदस्य किशोर विश्वकर्मा, धनकुटा अध्यक्ष विदुर खवाससहित महासंघका विभिन्न जिल्लामा निर्वाचितहरुलाई पनि सम्मान गरेको छ । 

दश बुँदे घोषणापत्र जारी 

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अधिवेशनले कोशी प्रदेशका सबै स्थानीय तहले सञ्चार नीति बनाउँदा दलितमैत्री बनाउनुपर्ने, प्रदेश सरकारले ल्याउन लागेको प्रदेश काउन्सिलमा दलित समुदायका पत्रकारको अनिवार्य सहभागीता हुनुपर्ने, प्रदेशमा  कोशी प्रदेश सरकारमा दलितलाई मन्त्री बनाइनुपर्ने तथा दलितमाथि भइरहेका विभेदको अन्त्य हुनुपर्ने लगायतका माग राखिएको छ । साथै छथरजोपाटी गाउँपालिकालाई कृषी र पर्यटनको हब बनाउन माग पनि गरिएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully