बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज सञ्चालन

पुस २७, २०८१

डम्बरसिं राई

Bailbridge operation in flooded areas

खोटाङ — गत असोज १२ गतेको बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गरी शनिबार उद्घाटन गरिएको हो ।

उक्त बेलिब्रिज कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । एक करोड २९ लाख ४६ हजार ७७ रूपैयाँको डिटेल स्टिमेट लागतमा बोलपत्र आह्वान गरिए पनि एक करोड दुई लाख रूपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको मन्त्री राईले बताए ।

उक्त निर्माण कम्पनीले पुसभित्र सक्ने गरी मंसिर २८ गते सम्झौता गरेको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान गरिएको हो । उक्त बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको छ । 

बेलिब्रिज जडानपछि तराईसँगको सिधा यातायात सम्बन्ध जोडिएको छ । यसले दैनिक उपभोग्य तथा अन्य सामाग्रीको मूल्य घट्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।

‘लोड अनलोड र बोकाई खर्च गरी प्रतिकेजी तीन रूपैयाँले सस्तो हुन्छ,’ आचार्यले भने, ‘प्रतिकेजी तीन रूपैयाँ सस्तो हुनु पनि धेरै राहत हो ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully