खोटाङ — खोटेहाङ गाउँपालिकामा कृषि तथा पशु मेला प्रदर्शनी आयोजना गरिएको छ । खोटाङबजारस्थित हटियामा शनिबार प्रदर्शनी आयोजना गरिएको हो ।
मेलामा फर्सी, मुला, गोलभेँडा, कागती, सुन्तला, किवी, काउली, केरा, माहुरी, भाले, राँगा, खसी, बङ्गुरलगायत प्रदर्शनीमा राखिएको थियो ।
पशु विधाअन्तर्गत राँगातर्फ खोटेहाङ–८ सिम्पानी बर्रेकी मन्दिरा अधिकारी प्रथम भएकी छन् । उनले १० हजार पुरस्कार जितेकी छन् । त्यस्तै खोटाङबजार मुलाबारीका सुजन श्रेष्ठ दोस्रो र मुलाबारीकै मिठूमान श्रेष्ठ तेस्रो भएका छन् । उनीहरूले क्रमशः आठ हजार र छ हजार पुरस्कार जिते ।
त्यस्तै खसीतर्फ खोटेहाङ–५ चिप्रिङका हिरालाल विष्ट प्रथम, खोटाङबजारका ममित राई दोस्रो र खोटाङ बजारकै उमेश भट्टराई तेस्रो भए । उनीहरूले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
बङ्गुरतर्फ खोटाङबजारकी चन्द्रकला परियार प्रथम, इन्द्रबहादुर राई दोस्रो र युवराज राई तेस्रो भएका छन् । उनीहरूले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
कृषितर्फ पनि विभिन्न १४ विधामा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार, तेस्रो हुनेले १ हजार पुरस्कार जितेको गाउँपालिकाले जनाएको छ । जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा पशु तथा पन्छीमा ७० र कृषितर्फ एक सयभन्दा बढी स्टल राखिएको थियो ।
कृषि तथा पशुबाट किसानको आयआर्जनमा वृद्धि गर्न मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए ।
स्थानीय भवगती माविका बाली विज्ञानका विद्यार्थीहरूले कृषिसम्बन्धी प्रदर्शनी गरेका थिए । उनीहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप १० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
