चिनियाँ लगानीकर्ताको टोली कोशीमा

पुस २७, २०८१

कान्तिपुर संवाददाता

A team of Chinese investors in Koshi

विराटनगर — कोशी प्रदेशमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने सम्भावना अध्ययन गर्न चीनका दुई ठूला कम्पनीका प्रतिनिधि  विराटनगर आएका छन् । १० दिने भ्रमण कार्यतालिका बनाएर उनीहरू बिहीबार यहाँ आएका हुन् ।

चाइना पावर कम्पनी र सिने हाइड्रो कम्पनीका तर्फबाट वाङ झि झाङको नेतृत्वमा ११ सदस्यीय टोली विराटनगर आइपुगेको हो।

विराटनगरमा आयोजित स्वागत कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रीहरू, जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। होटल बिगमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै टोली नेता झाङले नेपालमा लगानी गर्न चाहेको बताए।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले चिनियाँ टोली विशेष गरी जलस्रोत र पर्यटन क्षेत्रमा काम गर्न इच्छुक रहेको बताए। शुक्रबार बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको भेटमा पनि टोलीले लगानीको वातावरण बने आफूहरू पर्यटन र जलविद्यु‌त्‌को क्षेत्रमा काम गर्न इच्छुक रहेको कुरा दोहोर्‍याएको थियो।

परराष्ट्र मन्त्रालयको स्वीकृतिमा नेपाल भ्रमणमा आएको उक्त टोलीले कोशी प्रदेशका विभिन्न क्षेत्रको भ्रमण गर्नेछ। टोली चीनको सीमा क्षेत्रमा पर्ने संखुवासभाको किमाथाङ्कासम्म पुग्ने कार्यक्रम रहेको एक सरकारी अधिकारीले जानकारी दिए।

कान्तिपुर

Link copied successfully