धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

पुस २६, २०८१

रमेशचन्द्र अधिकारी

Two people died in a pickup accident at Pakhribas in Dhankuta

धनकुटा — धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका-३ जौटारमा बिहीबार राति सवा ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

पाख्रीबास–हिले सडकबाट १ सय ५० मिटर तल खस्दा पिकअपका चालक र सहचालक दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै चालक तामाङको गम्भीर घाइते भएर जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

दुवै शव जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully