बदाम फलाउने किसानलाई हलेसी तुवाचुङ नगरपालिकाको प्रोत्साहन

पुस २६, २०८१

डम्बरसिं राई

Halesi Tuwachung Municipality's encouragement to peanut farmers

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले बदाम फलाउने किसानलाई प्रोत्साहनबापत रकम वितरण गरेको छ । बदाम प्रवर्द्धन कार्यक्रमअन्तर\गत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापत रकम वितरण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई नगद २५ सय रूपैयाँ वितरण गरिएको छ । 

त्यसभन्दा धेरै बदाम फलाउने किसानलाई प्रतिमुरी तीन सय रूपैयाँका दरले प्रोत्साहनबापतको रकम वितरण गरिएको गिरीले सुनाए । ‘पााच मुरी भन्दा बढी बदाम फलाउनेलाई २५ सय र त्यसभन्दामाथि फलाउनेलाई प्रतिमुरी तीन सय रूपैयााका दरले प्रोत्साहन रकम वितरण गरिएको छ,’ गिरीले भने ।

हलेसी तुवाचुङ नगरपालिका कृषि शाखा प्रमुख रवीन भट्टराईका अनुसार उक्त नगरपालिकाको वडा नम्बर-२ डिकुवा र ८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो । भट्टराईका अनुसार धितुङका ९८ किसानलाई तीन लाख ९४ हजार र डिकुवाका ६ किसानलाई २१ हजार रूपैयाँ वितरण गरिएको छ । धितुङका किसानले ९ सय ९७ मुरी र डिकुवाका किसानले ५० मुरी बदाम उत्पादन गरेको भट्टराईले सुनाए । ‘धितुङमा तीन लाख ९४ हजार र डिकुवामा २१ हजार रूपैयाा प्रोत्साहन रकम वितरण गरियो,’भट्टराईले भने ।

अन्य वडामा भने वितरण गर्न बाँकी रहेको प्रवक्ता गिरीले सुनाए । नगरको नीति अनुसार बदाम उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको गिरीले बताए । ‘यसअन्तर्गत प्रोत्साहन रकमका लागि किसानले निवेदन दिनु हुन्छ,’ गिरीले भने, ‘त्यसपछि कृषिका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाएको पाइए त्यसको आधारमा प्रोत्साहन रकम दिइन्छ ।’ 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, ७ महादेवस्थान, ५ दुर्छिम, ११ राजापानीमा प्रोत्साहन रकम वितरण गर्न बाँकी रहेको गिरीले जनाए । उक्त नगरपालिकामा यो वर्ष करिब दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको भट्टराईले बताए ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully