दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमो तोडफोड

पुस २५, २०८१

डम्बरसिं राई

Tata Sumo going from Diktel to Kathmandu vandalized

खोटाङ — दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा बुधबार साँझ तोडफोड भएको छ । 

विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले साइड नदिएको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमो तोडफोड गरेका हुन् ।

यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर काभ्रे प्रहरी चौकी पुर्‍याएको यातायात प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए । ‘मादक पदार्थ सेवन गरेर गाडी तोडफोडमा संलग्नलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ,’ राईले भने, ‘अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’

गाडी तोडफोड भएपछि यात्रु अलपत्र परेको राईले बताए । बिचल्लीमा परेका यात्रुलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पुर्‍याइएको राईले जनाए । घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा गाडी तोडफोड गर्नमा संलग्न रहेको आशङ्कामा ९ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully