बिस्कुटको प्याकेटभित्र लुकाएर ल्याउँदै गरेको हेरोइनसहित दुई जना पक्राउ

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Two people were arrested with heroin hidden inside a packet of biscuits

विराटनगर — भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिल प्रसाद राई र सोही गाउँपालिका-५ की २९ वर्षीया स्मारिका नेम्बाङ छन्।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ८:३० बजे पुरानो मेचीपुल सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

भारतको पानीट्याङ्कीबाट सिटी रिक्सामा काँकडभिट्टातर्फ आउँदै गरेका उनीहरूको झोलाबाट प्रहरीले पतञ्जली दूध बिस्कुटको प्याकेटभित्र लुकाइएको अवस्थामा खैरो हेरोइन बरामद गरेको छ। बरामद लागूऔषधको तौल प्लास्टिकसहित ४ ग्राम ७ सय ३० मिलिग्राम रहेको छ।

सोधपुछका क्रममा उनीहरूले उक्त लागूऔषध भारतको पानीट्याङ्कीबाट किनेर ल्याएको स्वीकार गरेका छन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

लागूऔषध तस्करीविरुद्ध प्रहरीले सीमामा विशेष निगरानी बढाएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाइएको छ । 

कान्तिपुर

Link copied successfully