वडा-वडामै भत्ता

पुस २३, २०८१

डम्बरसिं राई

Ward-wise allowance

खोटाङ — ज्येष्ठ नागरिक तथा अशक्त र अपांगता भएका लाभग्राहीहरूलाई लक्षित गरी साकेला गाउँपालिकाले वडा–वडामै शिविर सञ्चालनमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । दोस्रो त्रैमासिक रकम वडा–वडामा पुगेर गत आइतबारबाट वितरण सुरु गरेको हो ।

शिविर गाउँपालिका, नेपाल एसबीआई बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटिएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । भौगोलिक विकटता र शारीरिक रूपमा अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन नसक्नेहरूलाई लक्षित गरी शिविर आयोजना गरिएको उनले जनाए । ‘वृद्धवृद्धा, हिँड्डुल गर्न नसक्नेहरूलाई वडा–वडामै पुगेर शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो,’ उनले भने । 

शिविरको पहिलो दिन गाउँपालिकाको वडा नम्बर २ रतन्छाको वडा कार्यालयमा आयोजित शिविरमा एक सय ८ जना लाभग्राहीलाई १३ लाख २१ हजार रकम वितरण गरिएको छ । 

शिविरको दोस्रो दिन सोमबार वडा नं १ बाँझेच्यानडाँडास्थित वडा कार्यालय भवनमा आयोजना गरिएको शिविरमा ७५ जना लाभग्राहीहरुलाई आठ लाख ८२ हजार भत्ता रकम वितरण गरिएको नेपाल एसबीआई बैंकका प्रतिनिधि अनिलकुमार महतोले बताए । 

तेस्रो दिन मंगलबार पनि वडा नं १ बाँझेच्यानडाँडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालय शिविर सञ्चालन गरिएको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङले बताए । पुस २४ गते गाउँपालिका–३ खिदिमाको वडा कार्यालयमा, पुस २५ गते ४ मात्तिमको वडा कार्यालयमा र शिविरको अन्तिम दिन पुस २६ गते ५ मात्तिमबिर्तास्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने चाम्लिङले बताए । 

गाउँपालिकामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा एक हजार तीन सय ३३ जना लाभग्राहीका लागि एक करोड ३४ लाख रूपैयाँ निकासा गरिएको चाम्लिङले सुनाए । ‘साकेलामा एक हजार तीन सय ३३ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही हुनुहुन्छ,’ चाम्लिङले भने, ‘उहाँहरूका लागि एक करोड ३४ लाख रूपैयाँ निकासा गरेका छौं ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully