चार बालबालिकाको उद्धार

पुस २२, २०८१

डम्बरसिं राई

Rescue of four children

खोटाङ — कोठामा थुनेर राखिएको बालकसहित चार जनालाई उद्धार गरिएको छ । ६ वर्षदेखि आफ्नै घरमा थुनेर राखिएको ऐसेलु खर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय बालक, सहाराविहीन ९ वर्षीया बालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकाका ११ र १२ वर्षीय बालकलाई माया घर नेपालले आइतबार उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा बन्धक अवस्थामा चार बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्ने गरी उद्धार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुई पाका दिनेश राईले बताए । ‘उद्धार गरिएका चारै जनालाई एम्बुलेन्स मार्फत इटहरी पठाइएको छ,’ राईले भने, ‘उनीहरूको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारका लागि माया घर नेपाल पठाइएको हो ।’

यसमध्ये राखाबाङ्देका बालक बोल्न, हिँड्न नसक्ने अवस्थाका छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेको हो । राखाबाङ्देलकै अर्की बालिका भने बुबा नभएको र आमा पनि अर्कैसँग बिहे गरेर गएकाले सहाराविहीन भएकी हुन् । उद्धार गरिएका बुईपाकाका बालकको बुबा पाँच वर्षदेखि बेपत्ता छन् । आमा समेत अर्कैसँग बिहे गरेकाले उनी सहाराविहीन भएका हुन् । सहाराविहीन उनलाई छिमेकीकामा बसिरहेको अवस्थाबाट उद्धार गरिएको बुईपाका वडाध्यक्ष राईले बताए । 

बुईपाकाकै अर्का एक बालकको भने बुबा अपाङ्गता भएका व्यक्ति हुन् । उनको आमा दीर्घरोगी र बाबु पनि शारीरिक अपाङ्गता भएकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको वडाध्यक्ष राईले बताए ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully