भेडेटारको फुड फेस्टिभलमा डेढ करोडको कारोबार

पुस २१, २०८१

रमेशचन्द्र अधिकारी

One and a half crore turnover at Bhedetar's food festival

धनकुटा — पर्यटकीय स्थल भेडेटारमा सम्पन फुड फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको छ । गत पुस १६ देखि तीन दिनसम्म आयोजित फेस्टिभलमा लक्ष्यभन्दा कम कारोबार भएको हो ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा भएको फेस्टिभलमा कम्तीमा दुई करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको एसोसिएसनका अध्यक्ष तुलराज लिम्बूले बताए ।

फुड फेस्टिभलमा विभिन्न जातीय मौलिक खानाको परिकार, हस्तकला, कृषिका सामग्रीसहितको स्टल राखिएको थियो । यसैगरी, ४० हजार आन्तरिक तथा बाह्य पर्यटकले फेस्टिभलमा सहभागिता जनाएका थिए । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट समेत उल्लेख्य पर्यटक आएको लिम्बूले जानकारी दिए । 

फेस्टिभलभरि आसपासका पर्यटकीय स्थलको प्याकेज बनाएर पर्यटकलाई घुमाउने व्यवस्था गरिएको थियो । अघिल्ला वर्षको दाँजोमा यस वर्ष फेस्टिभलमा सोचेजस्तो उपलब्धि नभएको आयोजकको भनाइ छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully