पाथीभरा क्याम्पस सञ्चालक समिति अध्यक्षमा पहिलो पटक महिला 

पुस २०, २०८१

आनन्द गौतम

For the first time, a woman is the President of the Board of Directors of Pathibhara Campus

ताप्लेजुङ — पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम राई निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा इजमले १८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी कुमार मादेनले १२ मत प्राप्त गरे । क्याम्पस सभामा आबद्ध ३६ जना मतदाताको रुपमा रहेका थिए । ३० मत खसेको थियो । 

क्याम्पस सभामा प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका सबै स्थानीय तहका प्रमुख, सञ्चालक समितिका सदस्य मतदाता हुने प्रावधान छ । मतदानका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसद उपस्थित भए भने स्थानीय तहका प्रमुख पनि सहभागी भए । यहाँ दलगत रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । इजम कांग्रेस र मादेन एमाले हुन् । मत पनि त्यसरी नै झरेको थियो । निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । 

समितिको सदस्यमा विजयीहरु गीता सेन्दाङले २७, मैया न्यौपाने १७, पृथ्वीप्रसाद मादेन १७, टेकनाथ अधिकारी १९ मत ल्याए । दलित बुद्धिजीवीको तर्फबाट सन्तोषकुमार सार्की निर्विरोध निर्वाचित भएका छन् । 

अध्यक्षले तीन जना सदस्य मनोनयन गर्न पाउने प्रावधान छ । २०४७ सालमा स्थापना भएको क्याम्पस सञ्चालक समितिको नेतृत्वमा यसअघि सबै पुरुष रहेका थिए । 

क्याम्पस अध्यक्ष हुन क्याम्पस सभाको सदस्य भएको हुनुपर्ने र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । यसअघि क्याम्पसले तीन जनाको नाम सिफारिस गर्ने र त्रिभुवन विश्व विद्यालयका उपकुलपतिले एक जनालाई तोक्ने प्रावधान रहेको थियो । 

पहिलो पटक मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो । यहाँ स्नातक र स्नातकोत्तर तहको पढाइ हुने गरेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully