खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले ऐंसेलुखर्क गाउँपालिकामा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घर–घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्रका साथ अपाङ्गता परिचयपत्र प्रदान गरेको छ ।
गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई यस्तो सेवा प्रदान गरेको हो ।
ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईका अनुसार जिल्ला प्रशासन कार्यालय खोटाङको टोलीले तीन दिन लगाएर शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरघरै पुगेर नागरिकता उपलब्ध गराएको हो । ‘शारीरिक रूपमा पूर्ण अपाङ्गता भएकाहरू प्रशासनसम्म पुग्न नसक्दा नागरिकताबाट वञ्चित हुनु परेको थियो,’ उनले भने ।
गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसका आधारमा शनिबार ऐंसेलुखर्क–२ राखाबाङ्देलका २१ वर्षीय सलिना राई र ४१ वर्षीय दीपक राईलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जलेश्वरीका चार जनालाई पनि यसै गरी नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले बताए ।
जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमायाँ राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । यसै गरी, राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमायाँ राईलाई पनि घरैमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।
नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतको टोली सम्बन्धित अपाङ्गता भएका व्यक्तिको घर–घरमै पुगेर नागरिकता तथा अपाङ्गता परिचयपत्र वितरण गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लाका १० स्थानीय तहमा ४ हजार ९ सय २२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । यसमध्ये ५ सय ३२ जना सुस्त श्रवण भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा संघ खोटाङले जनाएको छ ।
