हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

पुस १७, २०८१

कान्तिपुर संवाददाता

A woman died after being attacked by an elephant

बिराटनगर — झापाको कचनकवल गाउँपालिका- ७ तारावारीस्थित दीपज्योति सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया केलावत्ती राजवंशी रहेकी छिन्।

बुधबार १५-२० जना महिलासँगको समूहमा दाउरा र घाँस काट्न वन क्षेत्रमा गएकी राजवंशीलाई जंगली हात्तीले लखेटेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा खबर गरेपछि प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो।

घाइते राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएको र त्यहाँबाट थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएकामा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय बनियानीबाट करिब ९ किलोमिटर पश्चिम-उत्तरमा पर्दछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कान्तिपुर

Link copied successfully