खोटाङ — जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयमा दलित, गरिब र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय व्यवस्था मिलाइएको छ । सबैलाई शिक्षामा पहुँच विस्तार गर्न निःशुल्क आवासीय व्यवस्था मिलाइएको हो ।
पहिलो चरणमा यहाँ अध्ययनरत १९ जना बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन सुरु गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बन्चित नहोस् भनेर गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय व्यवस्था मिलाइएको हो,’ उनले भनिन् ।
निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक र एकजना कर्मचारीको व्यवस्थापन गरिएको उनले सुनाइन् । ‘विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबीसै घण्टा बालबालिकाको रेखदेख र पढाउनका लागि शिक्षक र कर्मचारीको व्यवस्था गरिएको छ,’ उनले भनिन् ।
तत्कालका लागि विद्यालयकै एउटा भवनमा सञ्चालित आवासीय विद्यालय कार्यक्रम आइतबार प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका हुन् । विद्यालयमा कक्षा १० सम्म २ सय ६५ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले बताए ।
