खुम्बु क्षेत्रमा वर्षकै पहिलो हिमपात

तापक्रम घट्न थालेपछि घर र पसल बन्द गरेर राजधानी हिँडे व्यवसायी

पुस १४, २०८१

भानुभक्त निरौला

First snowfall of the year in Khumbu region

सोलुखुम्बु — खुम्बु क्षेत्रमा यसवर्षको पहिलो हिमपात भएको छ । मध्य पौष बित्दा पनि हिउँ पर्न नसकेको खुम्बुमा गएरातिदेखि हिमपात भइरहेको हो । तापक्रममा समेत निरन्तर गिरावट आएसँगै हिउँ पर्न थालेको हो ।

हिउँ नपरेर खुम्बु क्षेत्रका हिमालहरू कालापत्थर जस्तै देखिन थालेका बेला हल्का हिमपात भएसँगै हिमालहरू सेता देखिन थालेका छन् भने खुम्बु क्षेत्रका गाउँहरू हिउँले सेताम्मे भएका छन् । नाम्चेको तापक्रम बिहानैबाट माईनस ११ डिग्रीमा झरेको छ ।

चिसो अत्याधिक बढेपछि स्थानीय पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारा नाम्चे भन्दामाथिका गाउँहरूमा हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हिउँदयाम सुरु भएसँगै खुम्बु क्षेत्रका ९५ प्रतिशत होटलहरू बन्द भएका छन् ।

जाडो छल्नका लागि खुम्बु क्षेत्रका स्थानीयहरू होटल र घरहरू बन्द गरेर राजधानीतिर लागेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए ।

हिउँ परेसँगै खुम्बु क्षेत्रमा चिसोका कारण आवतजावतमा समस्या सुरु भएको तेङ्बोचे पुगेका पर्यटन गाईन नरेस कार्की बताए ।

‘हिउँका कारण खुम्बुका गाउँहरू हेर्न लायकका सेताम्मे भएका छन्’ कार्कीले कान्तिपुरसँग भने, ‘जनजीवन भने निकै कष्टकर भएको छ ।’ यता मौसम पुर्वानुमान महाशाखाले भने आज पनि खुम्बु क्षेत्रमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।

साँझ हिमपात हुने र भोलिबाट भने मौसम सफा रहने मौसमविद् हरिप्रसाद दाहालले बताए । जिल्लाको तल्लो क्षेत्रमा भने हिमपात सुरु भएको छैन । 

भानुभक्त निरौला

Link copied successfully