सात विद्यार्थीलाई ७ लाख ६८ हजार 

पुस ११, २०८१

आनन्द गौतम

7 lakh 68 thousand for seven students

ताप्लेजुङ — जिल्लाकै दुर्गम फक्ताङलुङ र सिरिजंघा गाउँपालिकाका-७ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि ७ लाख ६८ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

पहिलो कञ्चनजंघा हिमालका आरोही बेलायती नागरिक जर्जबेण्डले स्थापना गरेको संस्था हिमालयन ट्रष्ट युकेको सहयोगमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले वितरण गरेको हो । 

यस वर्षको छात्रवृत्ति पाउनेमा तीन वर्षे प्राविधिक शिक्षातर्फ सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिनका सृष्टी राई र फक्ताङलुङ गाउँपालिका ५ तापेथोकका अर्जुन लिम्बू रहेका छन् । दुईवर्षे विज्ञान संकायतर्फ फक्ताङलुङ ६ लेलेपका निश्मा शेर्पा र सिरिजङ्गा ७ खेवाङका पेटिसा दाहाल रहेका छन् ।

दुईवर्षे शिक्षा–मानविकी र व्यवस्थापन संकायतर्फ फक्ताङलुङ ४ इखाबुका बन्दना लिम्बू र सोनी लिम्बू तथा सिरिजङ्गा  ६ मामाङखेका वृन्दा मावो लिम्बू रहेको रिड नेपालका प्रवन्धक राजेन्द्र पन्तले बताए । उनीहरूको कक्षा ११ र १२ को सम्पुर्ण शुल्क रिड नेपालले उपलब्ध गराउँछ । 

रिडले अहिलेसम्म ९४ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ । १२ वर्षदेखि जेहेन्दार र कम आयश्रोत भएका विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ । पन्तका अनुसार अहिलेसम्मको ८२ लाख २४ हजार वितरण गरेको छ ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले उच्च शिक्षा अध्ययन पश्चात आफ्नो क्षेत्रका विद्यालय वा समुदायमा कम्तीमा २ महिना स्वयंसेवा गर्नुपर्ने शर्त रहेको छ । रिड नेपालले १६ वर्षदेखि यी दुई पालिकामा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully