बाढीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडानको काम तीव्र

पुस ९, २०८१

डम्बरसिं राई

The work of Beilibridge connection is intensified in the place where the bridge was swept away by the flood

खोटाङ — खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिङटारमा असोज १२ गतेको बाढीले पुल बगाएपछि उक्त ठाउँमा बेलिब्रिज जडान सुरु गरिएको हो ।

उक्त बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोड्छ । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान हुनेछ । एक करोड २९ लाख ४६ हजार ७७ रूपैयाँको लागतमा पुसभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने गरी आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले मंसिर २८ गते सम्झौता गरेको थियो । 

सम्झौता अवधिमै काम सकेर यातायात सञ्चालन गरिने कोशी प्रदेश भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए । पुलको काम सम्पन्न भइनसक्दै पुल बगाएकाले त्यही निर्माण कम्पनीलाई दिने वा नयाँ प्रक्रियामा जाने भन्नेबारेमा पनि छलफल भइरहेको राईले बताए । ‘बेलामै काम सकेर यातायात सञ्चालन गरिने छ,’ मन्त्री राईले भने, ‘बेलिब्रिजका साथै खोटाङलाई लागेको प्राकृतिक नाकाबन्दी तोड्ने गरी स्थायी रूपमा समस्या समाधान हुन्छ ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully